
बामुनजुली, २६ जुन २०२६: विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्ने तथा आगामी शैक्षिक यात्रालाई अझ सुदृढ बनाउने उद्देश्यका साथ अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिले आगामी ग्रीष्मकालीन बिदाको अवसरमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एक महिने निःशुल्क पाठदान सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त पाठदान कार्यक्रम १ जुलाई २०२६ देखि ३१ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ।
आजको प्रतिस्पर्धात्मक शैक्षिक परिवेशमा विद्यार्थीहरूलाई विद्यालयको नियमित पठनपाठनसँगै अतिरिक्त शैक्षिक मार्गदर्शनको आवश्यकता महसुस गर्दै बामुनजुली आञ्चलिक समितिले यो सामाजिक तथा शैक्षिक अभियानको सुरुवात गरेको हो। आर्थिक अवस्था वा अन्य विभिन्न कारणले अतिरिक्त ट्युसन लिन नसक्ने विद्यार्थीहरूलाई समेत समान अवसर उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क सञ्चालन गरिनेछ।
यस पाठदान कार्यक्रममा अनुभवी तथा योग्य शिक्षकहरूको माध्यमबाट कक्षा ९ र १० का विद्यार्थीहरूलाई विभिन्न विषयमा नियमित पठनपाठन गराइनेछ। साथै अध्ययनप्रति रुचि बढाउने, परीक्षाको तयारीलाई प्रभावकारी बनाउने, समय व्यवस्थापन तथा आत्मविश्वास अभिवृद्धि गर्न आवश्यक मार्गदर्शनसमेत प्रदान गरिनेछ।
आग्सु बामुनजुली आञ्चलिक समितिको विश्वास छ कि शिक्षा नै समाज परिवर्तनको सबैभन्दा बलियो आधार हो। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराउनु प्रत्येक सचेत सामाजिक संस्थाको जिम्मेवारी हो। यही दायित्वलाई आत्मसात गर्दै समितिले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण समाजको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।
तसर्थ, बामुनजुली आञ्चलिक समिति अन्तर्गतका सम्पूर्ण अभिभावक, बुद्धिजीवी, शिक्षक, छात्र छात्रा तथा सचेत जनमानसहरूलाई आफ्नो-आफ्नो क्षेत्रका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई यस निःशुल्क पाठदान कार्यक्रमबारे जानकारी गराई उत्साहपूर्वक सहभागी गराइदिन हार्दिक अनुरोध गर्दछौं।
सबैको साथ, सहयोग र सहभागिताले यो शैक्षिक अभियान सफल हुने विश्वास व्यक्त गर्दै आग्सु बामुनजुली आञ्चलिक समिति विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ।
प्रतिवेदक: श्री भानु लामा, मुल सचिव, आग्सु, बामुनजुली आञ्चलिक समिति।