
अखिल असम गोर्खा छात्र संघ (आग्सु) दाम्रा आञ्चलिक समितिको आयोजनामा गोर्खाली समाजका गौरव, प्रख्यात गायक तथा सांस्कृतिक जगतका उज्याला नक्षत्र स्वर्गीय प्रशान्त तामाङ ज्यूको स्मृतिमा श्रद्धाञ्जली सभा मिति १२ जनवरी २०२६ का दिन बाख्राखुटी गोर्खा क्लब परिसरमा गरिमामय वातावरणमा सम्पन्न भएको थियो। उक्त श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय प्रशान्त तामाङ ज्यूको आकस्मिक निधनले सम्पूर्ण गोर्खाली समाजमा परेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ आयोजना गरिएको थियो।
कार्यक्रमको सुरुआत साँझ शान्त वातावरणमा दीप प्रज्वलन तथा स्वर्गीय प्रशान्त तामाङ ज्यूको तस्बीरमा पुष्प अर्पण गरी गरिएको थियो। उपस्थित सबैले केही समय मौन धारण गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली सभामा स्वर्गीय प्रशान्त तामाङ ज्यूले गोर्खाली गीत–संगीत, भाषा, संस्कृति तथा पहिचानको प्रवर्द्धनमा पुर्याउनु भएको अतुलनीय योगदानको स्मरण गरिँदै उहाँ सधैं हाम्रो हृदयमा जीवित रहने कुरा वक्ताहरूले व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा बाख्राखुटी आञ्चलिक समितिका सभापति गोपी विश्वकर्मा तथा मूल–सचिव गणेश शर्मा विशेष रूपमा उपस्थित रहनु भएको थियो। साथै अखिल असम गोर्खा छात्र संघ (आग्सु) जिल्ला समितिका सभापति विनोद लाम्साल तथा मूल–सचिव शिवो शर्मा पनि कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो। बाख्राखुटी गोर्खा क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहेको थियो।
वक्ताहरूले स्वर्गीय प्रशान्त तामाङ ज्यू केवल एक गायक मात्र नभई सम्पूर्ण गोर्खाली समाजको आवाज भएको उल्लेख गर्दै उहाँले भारतीय संगीत जगतमा गोर्खाली पहिचानलाई स्थापित गर्न खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। उहाँका गीतहरूले लाखौं युवालाई प्रेरणा दिएको र गोर्खाली समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरिएको थियो। यस्ता व्यक्तित्वको अभाव कहिल्यै पूरा नहुने भए पनि उहाँका सिर्जना र सम्झनाले सधैं हामीलाई मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरियो।
श्रद्धाञ्जली सभा शान्त, अनुशासित र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा आयोजक समितिको तर्फबाट उपस्थित सम्पूर्ण अतिथि, पदाधिकारी तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्वर्गीय प्रशान्त तामाङ ज्यूको आत्माले चिरशान्ति पाओस् भन्ने कामना गरिएको थियो। उक्त श्रद्धाञ्जली कार्यक्रमले स्वर्गीय प्रशान्त तामाङ ज्यूप्रतिको सम्मान, माया र कृतज्ञता प्रकट गर्नुका साथै गोर्खाली समाजबीच एकता र भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाएको अनुभूति सबैले गरेका थिए।
प्रतिवेदन: गोपी बिश्वकर्मा- सभापति, दाम्रा आञ्चलिक समिति, आग्सु।