📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

बलिदान दिवसको अवसरमा दुमदुमा कलेज युनिट पुनर्गठन, विद्यार्थी नेतृत्वलाई नयाँ ऊर्जा

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:06 AM

दुमदुमा, २५ अगस्त २०२६: वीर शहीदहरूको त्याग र बलिदानलाई स्मरण गर्ने बलिदान दिवसको अवसर पारेर अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत दुमदुमा कलेज युनिटको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई संगठनसँग थप संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा संगठनात्मक हकहितका विषयमा प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा नयाँ कलेज युनिट समिति गठन गरिएको हो।

दुमदुमामा सम्पन्न पुनर्गठन कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधान, शिक्षा सचिव खेमबहादुर छेत्री, सह-शिक्षा सचिव राहुल राई तथा दुमदुमा आञ्चलिक समितिका मूल–सचिव अभिजित छेत्रीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनका पदाधिकारी, विद्यार्थी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उपस्थित पदाधिकारीहरूले विद्यार्थी जीवनमा संगठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, अनुशासन र संगठनात्मक चेतनाको विकास आवश्यक रहेकोमा जोड दिए। कलेजस्तरमा विद्यार्थीहरूले सामना गर्ने विभिन्न समस्या तथा आवश्यकताहरूलाई पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसमक्ष संगठित रूपमा आवाज उठाउनुपर्ने विषयमा पनि छलफल गरिएको थियो।

पुनर्गठन कार्यक्रमका क्रममा दुमदुमा कलेज युनिटको नयाँ समिति गठन गरिएको थियो। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधानले संगठनको नीति, उद्देश्य, अनुशासन तथा विद्यार्थी हितप्रति प्रतिबद्ध भएर कार्य गर्ने शपथ ग्रहण गराएका थिए। शपथ ग्रहणपछि उपस्थित पदाधिकारीहरूले नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नयाँ समितिले कलेजका विद्यार्थीहरूको हकहितलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूका शैक्षिक तथा सामाजिक समस्याहरूलाई सम्बन्धित निकायसमक्ष उठाउने, संगठनात्मक गतिविधिलाई नियमित र व्यवस्थित बनाउने तथा अधिकभन्दा अधिक विद्यार्थीलाई संगठनको मूल उद्देश्यसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूबीच आपसी एकता, सहयोग र भाइचाराको भावना विकास गर्दै सकारात्मक तथा रचनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउने विषयमा पनि प्रतिबद्धता व्यक्त गरिएको छ।

बलिदान दिवसको अवसरमा कलेज युनिटको पुनर्गठन हुनु आफैंमा महत्वपूर्ण सन्देश बोकेको कार्यक्रमका रूपमा हेरिएको छ। वीर शहीदहरूको त्याग, समर्पण र योगदानबाट प्रेरणा लिँदै नयाँ पुस्ताका विद्यार्थीहरूलाई संगठन तथा समाजप्रति जिम्मेवार बनाउने दिशामा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

दुमदुमा कलेज युनिटको पुनर्गठनसँगै तिनसुकिया जिल्लामा अखिल असम गोर्खा छात्र संघ (आग्सु) को विद्यार्थी संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ। नवगठित समितिले आगामी दिनमा कलेजका विद्यार्थीहरूको हित, अधिकार र शैक्षिक वातावरणसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रतिवेदक : जतन प्रधान, सांगठनिक सचिव तथा IT In-charge, तिनसुकिया जिल्ला समिति

📤 Share this story
Scroll to Top