
बामुनजुली, २४ मे: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बामुनजुली आञ्चलिक समितिको आयोजनामा आइतबार, २४ मे २०२६ का दिन शैक्षिक कार्यशाला तथा अभिनन्दन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक उन्नयन, करियर मार्गदर्शन तथा समाजप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आञ्चलिक समितिका सभापति श्री रतन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मूल सचिव श्री भानु लामाले गरेका थिए। कार्यक्रममा बामुनजुली आञ्चलिक समिति अन्तर्गतका कुल ५६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै अवकाशप्राप्त शिक्षक, नवनियुक्त शिक्षक, खेलाडी, पूर्व आञ्चलिक कर्मी तथा राष्ट्र सेवामा समर्पित सैनिकहरू सहित जम्मा ७८ जना व्यक्तित्वहरूलाई अभिनन्दन तथा शुभकामना व्यक्त गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमका मुख्य प्रेरणादायी वक्ताका रूपमा श्री नवीन निरौला ज्यू उपस्थित भई विद्यार्थीहरूको भविष्य निर्माण, शिक्षा, अनुशासन तथा करियर सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रदान गरेका थिए। उहाँले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन, निरन्तर अध्ययनशील बन्न तथा समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो।
त्यसैगरी कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले आजका विद्यार्थीहरू नै भोलिको समाजका सक्षम नेतृत्वकर्ता र मार्गदर्शक भएको उल्लेख गर्दै शिक्षा, अनुशासन र नैतिक मूल्यलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
यस अवसरमा आग्सु उदालगुरी जिल्ला समिति, असम गोर्खा सम्मेलन जिल्ला समिति, स्थानीय अभिभावक, शिक्षागुरु, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिले खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदन: भानु लामा, मुल सचिव, आग्सु, बामुन्जुली आञ्चलिक समिति।