
भैरवकुण्ड, ६ जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बान्दरगुरी आञ्चलिक समितिको आयोजनामा ६ जुलाईका दिन भैरवकुण्डस्थित धनश्री रिसोर्टमा उच्च र उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई लिएर सम्बर्द्धना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आञ्चलिक समिति अन्तर्गत समाज तथा शिक्षाक्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका स्वर्गीय लोक बहादुर न्यौपाने, स्वर्गीय नारायण सापकोटा तथा स्वर्गीय खेम प्रसाद उपाध्यायको स्वर्णिम स्मृतिमा आदर्श छात्र पुरस्कार प्रदान गर्ने गरिएको छ।
कार्यक्रमको सभापतित्व आञ्चलिक समितिका सभापति श्री किरण अधिकारीले गर्नुभएको थियो भने आञ्चलिक मूल सचिव श्री सागर छेत्री तथा शिक्षा सचिव श्री कालिदास छेत्रीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन आञ्चलिक समितिका प्राक्तन सभापति, आग्सु उदालगुडी जिल्ला समितिका प्राक्तन शिक्षा सचिव तथा गाउँ प्रधान पुष्पधर थापाले गर्नुभएको थियो।
कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका मूल सचिव किशोर सिर्पाली निर्दिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने बर्सोला उच्चतर माध्यमिक विद्यालयका विषय शिक्षक लक्ष्मण अधिकारीले मुख्य अनुप्रेरक वक्ताका रूपमा सम्बोधन गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वको महत्त्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा आञ्चलिक क्षेत्रका शिक्षक, अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सांगठनिक सचिव श्री दुर्गा बस्नेतज्यू, जिल्ला शिक्षा सचिव रूपम आत्रेय, दीपक अधिकारी लगायत जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
यसैगरी गोर्खाली चलचित्र “आशिष” का कलाकार तथा प्राविधिक टोलीका सदस्य सुरेखा छेत्री, नितिश शर्मा, तुषार शर्मालगायतको समेत विशेष उपस्थिति रहेको थियो।
यस अभिनन्दन कार्यक्रममा स्वर्गीय लोक बहादुर न्यौपानेको जीवनीबारे शिक्षक जदुमोनी शर्मा, स्वर्गीय नारायण सापकोटाको जीवनीबारे जिल्ला सचिव हेमराज छेत्री तथा स्वर्गीय खेम प्रसाद उपाध्यायको जीवनीबारे शिक्षक यादव उपाध्यायले प्रकाश पार्नुभएको थियो।
यस अवसरमा स्मृति आदर्श छात्र पुरस्कारसमेत वितरण गरिएको थियो। स्वर्गीय लोक बहादुर न्यौपाने स्मृति आदर्श छात्र पुरस्कार अभिषेक पोखरेललाई प्रदान गरिएको थियो। स्वर्गीय नारायण सापकोटा स्मृति आदर्श छात्र पुरस्कार प्रतिमा देवीलाई प्रदान गरिएको थियो भने स्वर्गीय खेम प्रसाद उपाध्याय स्मृति आदर्श छात्र पुरस्कार पनि प्रतिमा देवीलाई प्रदान गरिएको छ।
कार्यक्रममा उपस्थित वक्ताहरूले स्वर्गीय व्यक्तित्वहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा बान्दरगुरी आञ्चलिक समितिले सम्पूर्ण अतिथि, सहयोगी तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ।
प्रतिवेदक: श्री किरण अधिकारी- सभापति,बान्दरगुरी आञ्चलिक समिति।