
राजगढ, १ जुलाई: राजगढ आंचलमा बसोबास गर्ने जनमानस को सहयोगमा उच्च माध्यमिक तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई बुधबार एक विशेष अभिनन्दन तथा सम्मान समारोहका बीच भव्य रूपमा सम्मान गरिएको छ।
कार्यक्रमको प्रारम्भमा देश तथा समाजका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीद वीरहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो।
समारोहको सभापतित्व अखिल असम गोर्खा छात्र संघ (आग्सु) राजगढ आंचलिक समितिका सभापति मधु क्षेत्रीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा आग्सु विश्वनाथ जिल्ला समितिका सभापति सुनिल सुतार उपस्थित हुनुहुन्थ्यो भने निर्दिष्ट वक्ताका रूपमा विश्वनाथ जिल्ला समितिका मूल–सचिवले विद्यार्थीहरूलाई शिक्षा, अनुशासन, नेतृत्व तथा सामाजिक उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य राख्नुभयो। त्यसैगरी विशिष्ट वक्ताका रूपमा उपस्थित डा. विष्णु भण्डारीले वर्तमान समयमा गुणस्तरीय शिक्षाको आवश्यकता, प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूले गर्नुपर्ने तयारी तथा नैतिक शिक्षाको महत्त्वबारे प्रकाश पार्दै सम्मानित विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
वक्ताहरूले परीक्षामा प्राप्त सफलता अन्तिम लक्ष्य नभई अझ ठूलो यात्राको सुरुआत भएको उल्लेख गर्दै निरन्तर अध्ययन, मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। अभिभावक, शिक्षक तथा समाजको सामूहिक सहयोगले मात्रै सक्षम र जिम्मेवार पुस्ता निर्माण सम्भव हुने उनीहरूको भनाइ थियो।
कार्यक्रममा उच्च माध्यमिक तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई खादा, प्रशंसापत्र तथा सम्मान सामग्री प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई उपस्थित अतिथिहरूले उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।
राजगढ क्षेत्रका विभिन्न संस्था तथा संगठनहरूको सक्रिय सहकार्यमा सम्पन्न उक्त सम्मान समारोहले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमले शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने सकारात्मक सामाजिक संस्कारलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: प्रदीप उपाध्याय- मूल-सचिव, राजगढ आञ्चलिक समिति।