
लखिपथार, २० जनुवारी: अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति अन्तर्गत लखिपथार आञ्चलिक समितिको आयोजनामा भारतीय सेनामा भर्ती हुन सफल लखिपथार क्षेत्रका गोर्खा युवाहरूलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। लखिपथारवासी जनताका लागि गौरव र खुसीको क्षणका रूपमा लिइएको उक्त कार्यक्रमले सम्पूर्ण क्षेत्रलाई उत्साहित बनाएको छ।
गत १५–०१–२०२६, भारतीय सेना दिवसकै दिन सार्वजनिक भएको सेना भर्ती सूचीअनुसार लखिपथार क्षेत्रबाट एकैचोटि सात जना गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरू भारतीय सेनामा भर्ती हुन सफल भएका थिए। देश सेवाको पवित्र अवसर प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि हो भने एउटै क्षेत्रबाट यति ठूलो सङ्ख्यामा गोर्खा सन्तानहरू चयन हुनु लखिपथारका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यस सफलताले न केवल सम्बन्धित परिवारहरूलाई गर्वान्वित बनाएको छ, तर सम्पूर्ण गोर्खा समाजमा पनि उत्साह र प्रेरणा थपेको छ।
यस महत्वपूर्ण उपलब्धिलाई सम्मान गर्दै लखिपथार आञ्चलिक समितिले विशेष कार्यक्रमको आयोजना गरी भर्ती हुन सफल सबै सात जना दाजुभाइ तथा दिदीबहिनीहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्यो। कार्यक्रममा बोल्दै वक्ताहरूले भारतीय सेनामा सेवा गर्नु केवल रोजगारी मात्र नभई राष्ट्रप्रतिको समर्पण, अनुशासन र साहसको प्रतीक भएको उल्लेख गरे। उनीहरूले सफल युवाहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले आजको उपलब्धि सम्भव भएको भन्दै भविष्यमा अझ उच्च सफलता हासिल गर्न सकून् भन्ने कामना व्यक्त गरे।
उक्त सम्मान कार्यक्रमका क्रममा आञ्चलिक समितिका सभापति रोहित छेत्रीले लखिपथार क्षेत्रबाट सात जना युवाहरूको चयन हुनु सम्पूर्ण गोर्खा समाजका लागि गर्वको विषय भएको बताए। उनले आग्सुले सधैं शिक्षा, अनुशासन र राष्ट्रसेवाको भावना विकास गर्न युवाहरूलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सकारात्मक उपलब्धिहरू बढ्दै जाने विश्वास व्यक्त गरे। त्यसैगरी जिल्ला शिक्षा सचिव खेम बहादुर क्षेत्रीले युवाहरूको सफलतामा अभिभावक, शिक्षक तथा समाजको संयुक्त योगदान रहेको बताए। आञ्चलिक शिक्षा सचिव एकलव्य छेत्रीले पनि विद्यार्थी तथा युवाहरूलाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरणा दिँदै सेनामा भर्ती सफल दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण लखिपथारका लागि प्रेरणाको स्रोत बनेको बताए।
कार्यक्रममा आञ्चलिक समितिका कर्मकर्ता, स्थानीय बुद्धिजीवी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले सफल युवाहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको देशप्रतिको सेवाले समाज र राष्ट्रको गौरव बढाउने विश्वास व्यक्त गरे। यसरी लखिपथार आञ्चलिक समितिद्वारा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमले लखिपथार क्षेत्रमा सकारात्मक ऊर्जा फैलाउँदै गोर्खा युवाहरूमा राष्ट्रसेवाप्रतिको भावना थप सुदृढ बनाएको छ।
प्रतिवेदक: जतन प्रधान, सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिला समिति, आग्सु।