
सुबनखाटा (बाक्सा):२ जुलाई २०२६ अखिल असम गोर्खा छात्र संघ (AAGSU) सुबनखाटा आञ्चलिक समितिको प्रतिनिधि सभा २ जुलाई २०२६ का दिन उत्साहपूर्ण, अनुशासित तथा गरिमामय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनका प्रतिनिधि, सदस्य तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतिनिधि सभामा संगठनको वर्तमान अवस्था, विगतका गतिविधिहरूको समीक्षा, संगठन विस्तार, विद्यार्थी हितका कार्यक्रम तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा AAGSU BTC क्षेत्रीय समितिका पूर्व सभापति जीवन भट्टराई, पूर्व मूल सचिव दीर्घ तामाङ, वर्तमान BTC क्षेत्रीय मूल सचिव राजु सुवेदी, तथा बक्सा जिल्ला समितिका सभापति दीपेन्द्र कार्कीको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले प्रतिनिधि सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनले समाजमा नेतृत्व विकास, शैक्षिक उन्नयन, सामाजिक उत्तरदायित्व तथा गोर्खा समुदायका साझा मुद्दाहरूमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, नवगठित नेतृत्वलाई संगठनको आदर्श र विधानअनुसार समर्पित भावनाका साथ कार्य गर्दै संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउन आग्रह गर्नुभयो।
प्रतिनिधि सभामा जिल्ला समितिको तर्फबाट उपसभापति खिरोज दाहाल, उपसभापति अमकान्त पौडेल, संगठनिक सचिव धर्म भण्डारी तथा मुखपत्र सचिव पृथु पराजुली पर्यवेक्षक (Observer) का रूपमा उपस्थित रहनुभएको थियो। उहाँहरूको प्रत्यक्ष निगरानी तथा सहजीकरणमा प्रतिनिधि सभा पूर्ण रूपमा विधानसम्मत, लोकतान्त्रिक र पारदर्शी ढङ्गले सम्पन्न भएको थियो।
प्रतिनिधि सभाले सर्वसम्मत निर्णयमार्फत श्री कृष्ण विश्वकर्मालाई सभापति तथा श्री प्रकाश न्यौपानेलाई मूल सचिव पदमा निर्विरोध चयन गर्दै नयाँ आञ्चलिक कार्यसमिति गठन गरेको छ। साथै, अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरू समेत चयन गरी संगठनलाई आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी प्रदान गरिएको छ।
नवनिर्वाचित सभापति तथा मूल सचिवले प्रतिनिधि सभालाई सम्बोधन गर्दै आफूहरूप्रति व्यक्त गरिएको विश्वासका लागि सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले संगठनको उद्देश्य, सिद्धान्त र विधानलाई आत्मसात् गर्दै विद्यार्थी समुदायको हक, हित र अधिकारको संरक्षण, शैक्षिक विकास, सामाजिक चेतना अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखी निष्पक्ष, सक्रिय र उत्तरदायी ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै विद्यार्थीहरूलाई एकताबद्ध बनाउने अभियानलाई थप सशक्त बनाइने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, पर्यवेक्षक, प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिको सफल कार्यकाल तथा सुबनखाटा आञ्चलिक समितिको निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरेको छ।
प्रतिवेदक- श्रीमान पवन सोनारी, सुचना एवं प्रविधि सचिव बाक्सा जिला समिति