
सदिया, २ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) पुव सदिया आञ्चलिक समितिले सदिया क्षेत्रको ३/४ माइल इलाकामा गोर्खा समुदायको लामो समयदेखि कब्जा तथा उपयोगमा रहेको भूमिमाथि भएको हस्तक्षेपको विषयलाई लिएर स्थानीय बासिन्दासँग महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा गोर्खा समुदायको भूमि, हक–अधिकार तथा अस्तित्वको संरक्षणका लागि सम्पूर्ण समुदाय एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। स्थानीय बासिन्दासँगको संवादका क्रममा प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत जानकारी आदानप्रदान गर्नुका साथै समुदायको न्यायोचित अधिकार सुनिश्चित गर्न आवश्यक पहललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) कुण्डिल मण्डल समितिका अध्यक्ष श्री प्रेम पौडेलको पनि उपस्थिति रहेको थियो। साथै, देउरी शाखा समितिका पदाधिकारीहरू तथा सम्बन्धित स्वायत्त परिषद्का सदस्यहरूसँग पनि वर्तमान परिस्थितिबारे महत्वपूर्ण छलफल सम्पन्न भएको थियो। विभिन्न पक्षबीच भएको यस संवादले समस्याको दीर्घकालीन समाधानका लागि आपसी सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा आग्सु पुव सदिया आञ्चलिक समितिका सभापति राजेन क्षेत्री, मूल–सचिव पंकज गजुरेल तथा उप-सभापति अर्जुन प्रधानको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेतृत्वले गोरखा समुदायको भूमि, पहिचान तथा संवैधानिक अधिकारको संरक्षणका लागि आग्सु सधैं अग्रपङ्क्तिमा रहने स्पष्ट धारणा राख्दै समुदायमाथि हुने कुनै पनि अन्याय वा हस्तक्षेपविरुद्ध सशक्त रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिवेदक : राजेन क्षेत्री-सभापति,पुर्व सदिया आञ्चलिक समिति।