
धुबुरीमा, २४ मई : फलिमारी गोर्खा भवन (नेपाली खुट्टी), धुबुरीमा आज २४ मई २०२६ आइतबारका दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु) धुबुरी जिल्ला समितिको दोस्रो द्वि-वार्षिक प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमको आयोजना आग्सु धुबुरी जिल्ला समितिद्वारा गरिएको थियो भने जिल्लाभरिका विभिन्न आञ्चलिक समितिबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रीय समितिबाट पर्यवेक्षकको रूपमा सूचना तथा प्रविधि सचिव किरण खर्का, कार्यालय सचिव विकास शर्मा तथा स्वास्थ्य सचिव लोहित क्षेत्री उपस्थित हुनुहुन्थ्यो। पर्यवेक्षक मण्डलले संगठनको वर्तमान अवस्था, विद्यार्थी समुदायको भूमिका तथा आगामी दिनमा संगठनलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्ने विषयमा महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो।
सभाको प्रारम्भ संगठनको झण्डोत्तोलन तथा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणसँगै गरिएको थियो। त्यसपछि निवर्तमान जिल्ला समितिको कार्यकालीन प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा संगठनात्मक गतिविधिबारे विस्तृत छलफल सम्पन्न भयो। प्रतिनिधिहरूले जिल्लाभित्र संगठन विस्तार, विद्यार्थी समस्या समाधान, शैक्षिक चेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
प्रतिनिधि सभाले सर्वसम्मत रूपमा नयाँ जिल्ला समिति गठन गरेको छ। नवगठित समितिमा सभापतिका रूपमा नरे बहादुर प्रधान चयन हुनुभएको छ भने उप–सभापतिहरूमा सुभाष थापा, केशवमान प्रधान, पूजा लिम्बु चयन हुनुभएको छ। मूल–सचिवमा सञ्जय छेत्री हुनुभएको छ भने सचिवहरूमा अमित उपाध्याय, नयन प्रधान तथा सुस्मा तामाङ चयन हुनुभएको छ।
संगठनको विभिन्न विभागीय जिम्मेवारी अन्तर्गत सांगठनिक सचिवमा बिकाश लामा तथा शिव कुमार राई, प्रचार सचिवमा सुरज छेत्री र साहिल लामा, शिक्षा सचिवमा राजेन छेत्री, सह शिक्षा सचिवमा विकि थापा, सांस्कृतिक सचिवमा भिम राई, ज्योति थापा र निशा थापा, स्वास्थ्य सचिवमा प्रकाश मगर तथा विकास ठकुरी , खेलकुद सचिवमा अमर लिम्बु र गणेश ठाकुरी, साहित्य सचिवमा अर्जनु थापा, वित्त सचिवमा राज लिम्बु, मुखपत्र सचिवमा किरण थापा तथा कार्यालय सचिवमा सिमा राई चयन हुनुभएको छ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए। सभाको अन्त्य धन्यवाद ज्ञापनसँगै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।