All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #37
July 2, 2026

उत्कृष्ट विद्यार्थीहरूको सम्मानमा आग्सु बान्दरगुरी आञ्चलिक समितिद्वारा ‘विशेष अभिनन्दन अनुष्ठान–२०२६’ आयोजना।

📅 July 2, 2026
✍️ AAGSU
🕒 12:06 AM

बान्दरगुरी, २६ जुन २०२६: शिक्षा नै समाज विकासको आधारशिला हो भन्ने विश्वासलाई आत्मसात गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु), बान्दरगुरी आञ्चलिक समितिको आयोजनामा आगामी ६ जुलाई २०२६ का दिन ‘विशेष अभिनन्दन अनुष्ठान–२०२६’ भव्य रूपमा सम्पन्न हुने भएको छ। भैरवकुण्डस्थित धनश्री रिसोर्ट मा आयोजना हुने उक्त एकदिने कार्यक्रममा उच्च तथा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी आञ्चलिक क्षेत्रको गौरव बढाउने गोर्खा विद्यार्थीहरूलाई सम्मान तथा अभिनन्दन गरिनेछ।

विद्यार्थीहरूको अथक परिश्रम, लगनशीलता र सफलताको कदर गर्दै उनीहरूलाई थप प्रेरणा प्रदान गर्ने तथा समाजमा शैक्षिक उत्कृष्टताको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा यस वर्ष उच्च तथा उच्च माध्यमिक परीक्षामा सफलता प्राप्त गरेका ४९ जना विद्यार्थीहरूलाई विशेष रूपमा अभिनन्दन गरिने भएको छ। कार्यक्रमले विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्नुका साथै आगामी दिनमा अझ उच्च लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास आञ्चलिक समितिले व्यक्त गरेको छ।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्रीज्यू मुख्य अतिथिको रूपमा उपस्थित भई विद्यार्थीहरूलाई शुभकामना तथा प्रेरणादायी मन्तव्य प्रदान गर्नुहुनेछ। त्यसैगरी जिल्ला समितिका मूल सचिव श्री किशोर शिर्पाली निर्दिष्ट वक्ताका रूपमा उपस्थित भई विद्यार्थी तथा अभिभावकलाई शिक्षा, नेतृत्व र सामाजिक उत्तरदायित्वका विविध पक्षबारे सम्बोधन गर्नुहुनेछ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा पूर्व छात्रकर्मी तथा बर्सोला उच्च माध्यमिक विद्यालयका विषय शिक्षक श्री लक्ष्मण अधिकारी मुख्य अनुप्रेरक वक्ताका रूपमा उपस्थित हुनुहुनेछ। उहाँले विद्यार्थीहरूलाई उच्च शिक्षा, प्रतिस्पर्धात्मक परीक्षा, करियर निर्माण, समय व्यवस्थापन तथा जीवनका आगामी चुनौतीहरूको सामना गर्ने विषयमा प्रेरणादायी मार्गदर्शन प्रदान गर्नुहुने छ भन्ने अपेक्षा गरिको छ आञ्चलिक समितिले।

यस वर्ष पनि विगतका वर्षहरूझैँ शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै विभिन्न स्मृति पुरस्कारहरू प्रदान गरिनेछन्। आञ्चलिक समिति अन्तर्गत नेपाली मातृभाषा विषयमा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘स्वर्गीय खेम प्रसाद उपाध्याय स्मृति आदर्श छात्र पुरस्कार’, बान्दरगुरी उच्च माध्यमिक विद्यालयमा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘स्वर्गीय नारायण सापकोटा स्मृति आदर्श छात्र पुरस्कार’, तथा सम्पूर्ण आञ्चलिक क्षेत्रभित्रकै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ‘स्वर्गीय लोकबहादुर छेत्री स्मृति आदर्श छात्र पुरस्कार’ प्रदान गरी सम्मान गरिनेछ। यी पुरस्कारहरूले दिवंगत व्यक्तित्वहरूको शैक्षिक योगदानको स्मरण गराउनुका साथै नयाँ पुस्तालाई उत्कृष्टताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।

आग्सु बान्दरगुरी आञ्चलिक समितिले शिक्षा, प्रतिभा र परिश्रमको सम्मान गर्ने संस्कृतिलाई निरन्तर प्रवर्द्धन गर्दै आएको छ। विद्यार्थीहरूको सफलतालाई सम्पूर्ण समाजको सफलताका रूपमा लिँदै समितिले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त विशेष अभिनन्दन अनुष्ठानमा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूको गरिमामय उपस्थितिका लागि आञ्चलिक समितिले हार्दिक अनुरोध गरेको छ। विद्यार्थीहरूको सम्मान र उत्साहवर्द्धनका लागि सबैको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र सफल बनाउने विश्वास व्यक्त गरिको छ।

📤 Share this story
Scroll to Top