
खौराङ, ३१ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समितिअन्तर्गत ३ नं. आमजुली शाखा समितिको आयोजनामा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको अभिनन्दन कार्यक्रम तथा शाखा समितिको प्रतिनिधि सभा आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
आमजुलीस्थित आयोजित कार्यक्रममा स्थानीय क्षेत्रका अभिभावक, विद्यार्थी, समाजसेवी तथा आग्सुका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान ११ बजे ३ नं. आमजुली शाखा समितिका सभापति विजय छेत्रीको सभापतित्वमा आरम्भ भएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य हालै सम्पन्न उच्च तथा उच्चतर माध्यमिक परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मान गर्दै उनीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्नु रहेको आयोजक पक्षले जनाएको छ। सो अवसरमा प्रथम तथा द्वितीय श्रेणीमा उत्तीर्ण भएका ११ जना विद्यार्थीहरूलाई अभिनन्दन पत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
यसै अवसरमा भारतीय सेनाको “अग्निबीर” योजनाअन्तर्गत चयन हुन सफल स्थानीय युवा भूवन छेत्रीलाई समेत विशेष अभिनन्दन गरिएको थियो। उनलाई अभिनन्दन पत्र प्रदान गर्दै उपस्थित वक्ताहरूले उनको सफलताले सम्पूर्ण क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गरेका थिए। साथै अन्य युवाहरूलाई पनि अनुशासन, परिश्रम र समर्पणका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।
अभिनन्दन कार्यक्रम सम्पन्न भएपछि ३ नं. आमजुली शाखा समितिको प्रतिनिधि सभा आयोजना गरिएको थियो। सभाले पुरानो कार्यसमितिलाई विधिवत् विघटन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित समितिमा विजय छेत्री सभापति, अजय गजुरेल उप-सभापति, रमेश भट्टराई मूल–सचिव, अशोक प्रधान सचिव तथा विद्या देवी शिक्षा सचिवाको रूपमा चयन भएका छन्। साथै १७ सदस्यीय शाखा समिति गठन गरी नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहणसमेत गराइएको थियो। बाँकी पदहरू आगामी कार्यकारिणी सभा मार्फत पूर्ण गरिने निर्णय गरिएको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा आग्सु खौराङ आञ्चलिक समितिका मूल–सचिव अभिषेक महन्त, सचिव नारायण दाहाल, शिक्षा सचिव सन्तोष शर्मा, सांगठनिक सचिव निशान महन्त, कार्यकारिणी सदस्य कमल छेत्री, ग्रीनबेली अंग्रेजी विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला राई, गाउँ विकास समितिका सम्पादक उमेश भट्टराई, समाजसेवी धीरज राई लगायत स्थानीय मातृवर्ग तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै संगठन र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: नारायण छेत्री- सचिव, खौराङ आञ्चलिक समिति ।