All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

केन्द्रीय समितिको निर्देश वमोजिम डिमा हसाओ जिल्लाका तीन स्थानमा स्व. प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:05 AM

डिमा हासाओ, २० जनुवारी: केन्द्रीय समितिको निर्देशन बमोजिम अखिल असम गोर्खा छात्र संघ (आग्सु) द्वारा डिमा हसाओ जिल्लाका तीन फरक–फरक स्थानमा इन्डियन आइडल सिजन–३ का विजेता तथा प्रख्यात गोर्खा गायक स्व. प्रशान्त तामाङको स्मृतिमा १२ जनवरी २०२६ का दिन श्रद्धाञ्जली सभा तथा अनुष्ठान अत्यन्तै शान्त, मर्यादित र भावपूर्ण वातावरणमा सम्पन्न गरियो। गोर्खा समुदायको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरियो।


पहिलो श्रद्धाञ्जली सभा अपर बागेतर, हाफ्लोङमा साँझ ५:०० बजे आग्सु डिमा हसाओ जिल्ला समितिको आयोजनामा सम्पन्न भयो। कार्यक्रममा जिल्ला समितिका सभापति श्री उत्तम घर्ती, मूल–सचिव श्री बेवकन्दा जोइशी, हाफ्लोङ आञ्चलिक समितिका मूल–सचिव श्री विशाल शर्मा, जातिङ्गा आञ्चलिक समितिकी मूल–सचिवा श्रीमती वर्षा राई, हाफ्लोङ कलेज इकाइकी सभापति श्रीमती ममता जोइशी, बागेतर गोर्खा युथ क्लबका सभापति श्री विक्रम पाण्डे लगायत आग्सु डिमा हसाओ जिल्ला समिति, हाफ्लोङ आञ्चलिक समिति, जातिङ्गा आञ्चलिक समिति तथा हाफ्लोङ कलेज इकाइका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुआत दुई मिनेट मौन धारण गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो। वक्ताहरूले स्व. प्रशान्त तामाङको संघर्षपूर्ण जीवन, संगीत यात्रासँगै उहाँको गायनले लाखौँ श्रोताको मन छोएको प्रसङ्ग स्मरण गरे। उहाँ गोर्खा युवाहरूका लागि प्रेरणाको स्रोत भएको भन्दै सहभागीहरूले भावुक श्रद्धासुमन अर्पण गरे।


त्यसैगरी दोस्रो श्रद्धाञ्जली सभा गरमपानी नेपाली बस्ती (३ कि.मि.), उमराङ्सोमा आग्सु गरमपानी आञ्चलिक समितिको आयोजनामा सम्पन्न भयो। कार्यक्रममा आञ्चलिक समितिका पदाधिकारीहरू, गोर्खा समुदायका सदस्यहरू, समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको ठूलो सहभागिता रहेको थियो। मौन धारणपछि वक्ताहरूले स्व. प्रशान्त तामाङले गोर्खा समुदायको पहिचान र गौरवलाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउन खेलेको भूमिकाको चर्चा गरे। पुष्पाञ्जली अर्पण गर्दै सहभागीहरूले उहाँको आत्माको चिरशान्तिको कामना गरे।


तेस्रो श्रद्धाञ्जली सभा गोविन्दा नगर, गणेश मन्दिर, उमराङ्सोमा साँझ ५:०० बजे सम्पन्न भयो। कार्यक्रममा सभापति श्री मोहन क्षेत्री, सचिव श्री चन्दन शर्मा, कोषाध्यक्ष श्री विष्णु उपाध्याय, सांस्कृतिक सचिव श्री रामु मगर, सह–सचिव श्री प्रेम जोशी, सदस्यहरू श्री मनोज क्षेत्री, श्री गणेश क्षेत्री, श्री आयुष क्षेत्री, सल्लाहकार श्री पुरुषोत्तम जोशी, जिल्ला समितिका सल्लाहकार श्री जीवन शर्मा, आग्सुका पूर्व सभापति श्री बालकृष्ण शर्मा, श्री संजीव क्षेत्री, समाजसेवी श्री लाक्पा लामा, श्री दिलिराम राखल तथा शिक्षक श्रीमती मञ्जु शर्मा र श्री इन्द्र शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो। यहाँ पनि दुई मिनेट मौन धारण गर्दै वक्ताहरूले स्व. प्रशान्त तामाङको संगीत योगदान, सरल व्यक्तित्व र समाजप्रतिको समर्पणको स्मरण गरे।


तीनै स्थानमा सम्पन्न श्रद्धाञ्जली सभाहरू सामूहिक प्रार्थनासहित समापन गरियो। सहभागीहरूले स्व. प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे र उहाँको आत्माको चिरशान्ति तथा परिवारलाई यो अपूरणीय क्षतिलाई सहन शक्ति प्रदान होस् भन्ने कामना व्यक्त गरे।

प्रतिवेदन: विवेकानन्द जैसी- मूल सचिव, डिमा हसाओ जिला समिति(आग्सु)।

📤 Share this story
Scroll to Top