
लखीपथार, तिनसुकिया १९ मार्च: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को संगठनात्मक संरचनामा एक महत्वपूर्ण तथा ऐतिहासिक निर्णय लिँदै लखीपथार स्वतन्त्र शाखा समितिलाई औपचारिक रूपमा आञ्चलिक समितिको मान्यता प्रदान गरिएको छ। केन्द्रीय समितिको आह्वान तथा आग्सु तिनसुकिया जिल्ला समितिको प्रस्ताव अनुरूप लिइएको उक्त निर्णयलाई संगठन विस्तार तथा सुदृढीकरणतर्फको ठुलो उपलब्धिको रूपमा लिइएको छ।
उल्लेखनीय छ कि लखीपथार स्वतन्त्र शाखा समिति समग्र असमभरि जिल्ला समितिको मातहतमा क्रियाशील एक मात्र स्वतन्त्र शाखा समिति थियो, जसले लामो समयदेखि संगठनात्मक गतिविधिहरू सक्रिय रूपमा सञ्चालन गर्दै आएको थियो। यसको निरन्तर सक्रियता, प्रभावकारी कार्यशैली तथा क्षेत्रीय स्तरमा देखिएको सकारात्मक प्रभावलाई मध्यनजर गर्दै यसलाई आञ्चलिक समितिको रूपमा स्तरोन्नति गरिएको हो।
यस सम्बन्धमा आयोजित विशेष बैठक आञ्चलिक समितिका सभापति रोहित छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आग्सु तिनसुकिया जिल्ला समितिका उपसभापति सुमन छेत्री, सांगठनिक सचिव जतन प्रधान, शंकर जैशी, शिक्षा सचिव खेम बहादुर छेत्री तथा स्थानीय शिक्षक प्रेम छेत्री आमन्त्रित अतिथिको रूपमा उपस्थित थिए। उनीहरूका साथै करिब पचास जना कार्यकर्ता तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा जिल्ला समितिका प्रतिनिधिहरूको उपस्थितिमा लखीपथार समितिलाई औपचारिक रूपमा आञ्चलिक समितिको मान्यता प्रदान गरिएको हो। कार्यक्रममा वक्ताहरूले संगठनभित्रको एकता, अनुशासन तथा सक्रियतालाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। नवगठित आञ्चलिक समितिलाई शुभकामना व्यक्त गर्दै उनीहरूले आगामी दिनहरूमा अझ सशक्त र प्रभावकारी रूपमा कार्य गर्न प्रेरणा प्रदान गरेका थिए।
वक्ताहरूले आफ्नो मन्तव्यमा विश्वास व्यक्त गर्दै भने कि नवगठित लखीपथार आञ्चलिक समिति अब क्षेत्रका जनताका सामाजिक, शैक्षिक तथा समग्र विकासका क्षेत्रमा अझ प्रभावकारी ढंगले कार्य गर्नेछ। साथै, संगठनलाई जरो तहसम्म मजबुत बनाउन यस समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
यस निर्णयले न केवल संगठनात्मक गतिविधिहरूलाई तीव्रता प्रदान गर्नेछ, तर क्षेत्रका युवाहरूबीच चेतना, सहभागिता तथा नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। यसबाट समाजको सर्वाङ्गीण विकासतर्फ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) तिनसुकिया जिल्ला समिति ।