All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #23
March 26, 2026

पेन्ग्री आञ्चलिक समिति गठन, राम मगर सभापति र विष्णु उपाध्याय मूल–सचिव चयन

📅 March 26, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, २१ मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत पेन्ग्री आञ्चलिक समितिको गठन एक भव्य प्रतिनिधि सभामार्फत सम्पन्न भएको छ। ब्रह्माजान पंचायतको प्रेक्षागृहमा आयोजित उक्त सभामा क्षेत्रभरिका प्रतिनिधि, कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भ संगठनप्रति समर्पित भावनासहित गरिएको थियो भने सभाको मुख्य उद्देश्य पेन्ग्री क्षेत्रमा आग्सुको सांगठनिक सुदृढीकरण गर्दै नयाँ नेतृत्व चयन गर्नु रहेको थियो। सोही अनुसार, पुरानो संरचनालाई पुनर्संरचना गर्दै नयाँ आञ्चलिक समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

प्रतिनिधि सभाबाट राम मगरलाई सभापतिमा चयन गरिएको छ भने विष्णु उपाध्यायलाई मूल–सचिवको जिम्मेवारी प्रदान गरिएको छ। नवगठित समितिप्रति उपस्थित प्रतिनिधिहरूले पूर्ण समर्थन जनाउँदै संगठनलाई अझ सक्रिय, सशक्त र जनमुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

नव–निर्वाचित सभापति राम मगरले आफ्नो मन्तव्यमा पेन्ग्री क्षेत्रका गोर्खा समुदायका हक–हित, पहिचान र अधिकारको संरक्षणका लागि संगठनले अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूलाई संगठित गर्दै सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको पनि स्पष्ट पारे। त्यसैगरी, मूल–सचिव दीपक रेग्मीले संगठनलाई अनुशासित, गतिशील र प्रभावकारी बनाउँदै जनताका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने कार्यमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे।

नवगठित पेन्ग्री आञ्चलिक समितिले आगामी दिनहरूमा गोर्खा समुदायका विविध समस्याहरू पहिचान गरी समाधानका लागि योजनाबद्ध रूपमा कार्य गर्ने अठोट लिएको छ। साथै, डिगबोई आञ्चलिक समितिसँग समन्वय गर्दै क्षेत्रीय स्तरमा संगठनको प्रभाव विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।

उक्त प्रतिनिधि सभामा जिल्ला सांगठनिक सचिव दल लिम्बू, मुखपत्र सचिव सन्ता तामाङ, साहित्यिक सचिव तेन्जिङ तामाङ, सह सांस्कृतिक सचिव मुकेश विश्वकर्मा र सह खेलकुद सचिव सोनी लिम्बू पर्यवेक्षकको रूपमा उपस्थित रहेका थिए। उनीहरूले नवगठित समितिलाई शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त बनाउने दिशामा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका थिए।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। समग्रमा, पेन्ग्री आञ्चलिक समितिको गठनले क्षेत्रीय स्तरमा आग्सुको संगठनात्मक आधार मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव(IT Incharge), तिनसुकिया जिल्ला समिति।

📤 Share this story
Scroll to Top