
तिनसुकिया, २१ मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत फिलोबारी आञ्चलिक समितिको नयाँ कार्यसमिति गठन गर्ने उद्देश्यले आयोजित प्रतिनिधि सभा फिलोबारीस्थित आग्सु कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो, जहाँ विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरू तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
उक्त प्रतिनिधि सभाले सर्वसम्मत रूपमा जितुल थापालाई सभापति र रञ्जित शर्मालाई मूल–सचिवको रूपमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित समितिलाई संगठनको नीति तथा उद्देश्यअनुसार अगाडि बढ्दै फिलोबारी आञ्चलिक क्षेत्रभित्र गोर्खा समुदायका हक–हितको संरक्षण र समग्र क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रदान गरिएको छ।
कार्यक्रमका क्रममा नव–निर्वाचित पदाधिकारीहरूले संगठनप्रति पूर्ण निष्ठा र समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले आगामी दिनहरूमा फिलोबारी आञ्चलिक क्षेत्रमा देखिएका विविध सामाजिक, शैक्षिक तथा आर्थिक समस्याहरूको समाधानका लागि ठोस पहल गर्ने वाचा कसम खाएका छन्। साथै, गोर्खा समुदायको पहिचान, अधिकार र सम्मानको संरक्षण गर्दै संगठनलाई अझ सुदृढ बनाउने दिशामा सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाइएको थियो।
उक्त प्रतिनिधि सभामा जिल्ला उप–सभापति दुर्गा खतिवडा र सह–सचिव मंगल लिम्बू पर्यवेक्षकको रूपमा उपस्थित रहेका थिए। उनीहरूले नवगठित समितिलाई शुभकामना दिँदै संगठनलाई सशक्त बनाउने कार्यमा सबै सदस्यहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, संगठनभित्र अनुशासन, एकता र सक्रियता कायम राख्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले पनि नवगठित समितिप्रति विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा संगठनले फिलोबारी क्षेत्रका विभिन्न समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्ने आशा व्यक्त गरेका थिए।
यसरी, फिलोबारी आञ्चलिक समिति (आग्सु) को नयाँ कार्यसमिति गठनसँगै क्षेत्रीय स्तरमा संगठनात्मक गतिविधिहरू अझ तीव्र हुने विश्वास गरिएको छ। नवगठित समितिले आफ्नो कार्यकालमा समुदायप्रति उत्तरदायी भई काम गर्दै संगठनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति।