All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #23
March 26, 2026

गौशला शाखा समिति पुनर्गठन: मनोज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

📅 March 26, 2026
✍️ AAGSU
🕒 12:07 AM

उदालगुरी, २२ मार्च २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समिति अन्तर्गत गौशला शाखा समितिको साधारणसभा आज बेलुकी ठीक ३ बजे सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमा विद्यार्थी संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको उक्त सभाले संगठनलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

सभाको प्रारम्भसँगै शाखा समितिको पुरानो कार्यसमितिलाई विधिवत् रूपमा विघटन गरिएको थियो। त्यसपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित समितिको सभापतिमा मनोज अधिकारी चयन हुनुभएको छ भने मूल सचिवको जिम्मेवारी नारायण छेत्रीलाई प्रदान गरिएको छ। नयाँ नेतृत्व चयनसँगै संगठनभित्र उत्साह र जिम्मेवारीको भावना झन् मजबुत बनेको देखिएको छ।

यस महत्वपूर्ण कार्यक्रममा विभिन्न तहका संगठनका पदाधिकारी तथा समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। डिमाकुची आञ्चलिक सभापति बिनोद लम्साल, मूल सचिव श्रीमान् प्रकाश बुढाथोकी, उपसभापति शिव छेत्री, सांगठनिक सचिव धर्मानन्द फुऐल, सदस्यहरू विशाल अधिकारी र कुमार सुबेदीले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, बिटिसी क्षेत्रीय समितिका सचिव श्रीमान् सुदर्शन भुसाल, उदालगुरी जिल्ला समितिका उपसभापति अर्पण छेत्री, शिक्षा सचिव दीपक अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। उहाँहरूले संगठनलाई थप प्रभावकारी र गतिशील बनाउँदै विद्यार्थी तथा समाजका हकहितका लागि निरन्तर सक्रिय रहन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा डिमाकुची आञ्चलिक समितिका प्राक्तण छात्र नेता तथा अ.गो.छ.स. शुक्लाई शाखा समितिका सभापति श्रीमान् भक्त प्रधान, समाजसेवी भिम कटुवाल लगायत थुप्रै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले संगठनको भूमिका, जिम्मेवारी र भविष्यका योजनाबारे महत्वपूर्ण धारणा राख्दै नयाँ समितिलाई मार्गदर्शन प्रदान गरेका थिए।

सभामा सहभागीहरूले नयाँ कार्यसमितिले संगठनलाई अझ सशक्त बनाउँदै विद्यार्थी समुदायका समस्या समाधान, सामाजिक चेतना अभिवृद्धि तथा समग्र गोर्खा समाजको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। नवगठित नेतृत्वप्रति सबै पक्षबाट सकारात्मक अपेक्षा राखिएको छ।

कार्यक्रम समापनसँगै गौशला शाखा समितिले आगामी दिनहरूमा विभिन्न सामाजिक, शैक्षिक तथा संगठनात्मक गतिविधिहरूलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यसमितिको गठनसँगै संगठनभित्र नयाँ जोश र सक्रियता थपिएको छ, जसले भविष्यमा अझ प्रभावकारी कार्यसम्पादन गर्ने विश्वास गरिएको छ।

प्रतिवेदक: प्रकाश बुराथोकि- मूल सचिव, डिमाकुचि आञ्चलिक समिति ।

📤 Share this story
Last Story in Issue →
Scroll to Top