📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

गोर्खे चेलीमाथि भएको बलात्कारको विषयमा तिनसुकिया जिल्ला आयुक्तसँग भेटघाट

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:05 AM

तिनसुकिया, १२ अगस्त २०२६: तिनसुकिया जिल्लाको तालाप क्षेत्रमा एक गोर्खा युवतीमाथि भएको निन्दनीय बलात्कारको घटनालाई लिएर अखिल असम गोर्खा छात्र संघ (आग्सु) का प्रतिनिधिहरूले १२ अगस्त २०२६ का दिन तिनसुकिया जिल्ला आयुक्तसँग भेटघाट गरी घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिमण्डलले पीडितलाई न्याय सुनिश्चित गर्न तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रशासनसमक्ष माग राखेको छ।

भेटघाटमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिका प्रतिनिधिहरूका साथै केन्द्रीय समितिका सांगठनिक सचिवको समेत उपस्थिति रहेको थियो। प्रतिनिधिमण्डलले घटनाको संवेदनशीलता र गम्भीरतालाई मध्यनजर गर्दै प्रशासनले शीघ्र तथा प्रभावकारी रूपमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको थियो।

भेटका क्रममा प्रतिनिधिहरूले पीडित पक्षले न्याय प्राप्त गर्ने सुनिश्चित वातावरण निर्माण गर्न, घटनाको निष्पक्ष छानबिनलाई प्रभावकारी रूपमा अघि बढाउन तथा दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न जिल्ला प्रशासनसमक्ष आग्रह गरेका थिए। घटनापछि समुदायमा उत्पन्न चिन्ता तथा असुरक्षाको भावनालाई समेत ध्यानमा राख्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा रोकथामका उपायहरू अवलम्बन गर्नुपर्ने विषय उठाइएको थियो।

प्रतिनिधिमण्डलले दोषीमाथि कडा कारबाही र पीडित पक्षलाई न्याय दिलाउने विषयमा संगठनको स्पष्ट धारणा प्रस्तुत गरेको थियो। साथै, पीडित तथा उनको परिवारलाई आवश्यक सहयोग, सुरक्षा र न्यायिक प्रक्रियामा सहजीकरण गर्न सम्बन्धित निकायले संवेदनशीलताका साथ काम गर्नुपर्नेमा जोड दिइएको थियो।

अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले महिला तथा बालिकामाथि हुने हिंसा र यौन अपराधविरुद्ध आफ्नो आवाज निरन्तर उठाउँदै आएको उल्लेख गर्दै यस घटनामा पनि पीडित पक्षको न्यायका लागि आवश्यक पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनले समुदायका सदस्यहरूको सुरक्षा, सम्मान र न्यायको अधिकार सुनिश्चित गर्न प्रशासन तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिवेदक : श्रीमान् जतन प्रधान, सांगठनिक सचिव तथा IT In-charge, तिनसुकिया जिल्ला समिति

📤 Share this story
Scroll to Top