All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #58
•
November 26, 2026

नगाउँ सदर महाविद्यालय एकाइको नवागत अभिनन्दन सभा तथा रमाइलो भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न

📅 November 26, 2026
✍️ AAGSU
🕒 12:07 AM

नगाउँ, १९ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), नगाउँ सदर महाविद्यालय एकाइको आयोजनामा बिहीबार नगाउँमा नवागत अभिनन्दन सभा तथा रमाइलो भेटघाट कार्यक्रम भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा अभिनन्दन गर्दै उनीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सद्भाव र गोर्खा जातिको भाषा, साहित्य, संस्कृति एवं पहिचानप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको औपचारिक शुभारम्भ नवगठित आग्सु नगाउँ सदर महाविद्यालय एकाइकी सभानेत्री श्रीमती तुलसी गुरुङद्वारा संगठनको झण्डोत्तोलन गरी गरिएको थियो। त्यसपश्चात् आग्सु नगाउँ जिल्ला समितिका मूल–सचिव श्री रोशन बरालले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो। कार्यक्रममा गोर्खा जातिको सामाजिक, सांस्कृतिक तथा शैक्षिक आन्दोलनमा योगदान पुर्‍याउने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद स्मृति तर्पण कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम आग्सु केन्द्रीय समितिका साहित्य सचिव श्री कुलदीप छेत्रीको नेतृत्वमा सम्पन्न भएको थियो। यसैगरी वातावरण संरक्षण तथा हरित समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसलाई नगाउँ सदर गोर्खा विद्यार्थी समितिका महासचिव श्री ध्रुव छेत्रीले सम्पन्न गर्नुभएको थियो।

कार्यक्रमका क्रममा संगठनप्रति निरन्तर योगदान, सक्रियता तथा जिम्मेवारी निर्वाह गर्दै आउनुभएका आग्सु नगाउँ जिल्ला समितिका सभापति श्री रोहित शर्मालाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो। साथै, नगाउँ सदर आग्सु कलेज युनिटको तर्फबाट जिल्ला समितिका उपसभापतिद्वय श्री पवन निरौला र श्री नेत्र छेत्री तथा प्रचार सचिव श्री टिंकु पौडेललाई पनि सम्मान एवं अभिनन्दन गरिएको थियो। यसरी संगठनका विभिन्न तहमा रहेर योगदान पुर्‍याउने पदाधिकारीहरूलाई सम्मान गरिनुले संगठनभित्र आपसी सद्भाव, प्रोत्साहन र जिम्मेवारीबोधलाई थप सुदृढ बनाएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा विश्वनाथ विद्यालयका अध्यक्ष तथा असम नेपाली साहित्य सभाका सभापति डा. चिन्तामणि शर्माको गरिमामय उपस्थिति रहेको थियो। उहाँको उपस्थितिले कार्यक्रमको महत्त्व र गरिमालाई थप उचाइ प्रदान गरेको थियो। त्यसैगरी विशिष्ट तथा आमन्त्रित अतिथिका रूपमा श्रम निरीक्षक (असम) डा. मञ्जीव शर्मा, ADC श्री कमलजीत शर्मा, असम नेपाली साहित्य सभाका संगठन सचिव श्री भरत बराल, असम नेपाली साहित्य सभा नगाउँ जिल्ला समितिका कार्यकारी सभापति श्री मदन उपाध्याय तथा गोर्खा सम्मेलन नगाउँ जिल्ला समितिका महासचिव श्री नारायण छेत्रीको उपस्थिति रहेको थियो।

यसका अतिरिक्त अखिल असम छात्र संघ (AASU), नगाउँ जिल्ला समितिका सभापति तथा महासचिव, मध्य असम कोच राजबंशी छात्र संघ, नगाउँ जिल्ला समितिका उपसभापति एवं महासचिवलगायत विभिन्न सामाजिक, साहित्यिक तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा निर्दिष्ट वक्ताका रूपमा आग्सु नगाउँ जिल्ला समितिका सल्लाहकार श्री लेखनाथ शर्माको उपस्थिति रहेको थियो। विभिन्न संगठनका प्रतिनिधिहरूको सामूहिक सहभागिताले विभिन्न समुदाय तथा संगठनबीचको आपसी सम्बन्ध, सहकार्य र सामाजिक एकताको भावनालाई थप मजबुत बनाएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थी जीवन केवल औपचारिक शिक्षा हासिल गर्ने समय मात्र नभई व्यक्तित्व विकास, सामाजिक चेतना, नेतृत्व क्षमता र सामुदायिक उत्तरदायित्व निर्माण गर्ने महत्त्वपूर्ण अवसरसमेत भएको विचार व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रासँगै समाज, जाति, भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको थियो। विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत बनाउँदै सामाजिक एकता र भाइचाराको भावना आत्मसात् गर्न प्रेरित गरिएको थियो।

नवागत विद्यार्थीहरूलाई संगठनसँग परिचित गराउने, उनीहरूका विचार, अनुभव तथा प्रतिभालाई साझा मञ्च प्रदान गर्ने र विद्यार्थीहरूबीच आपसी चिनजान तथा आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थी समुदायमा सकारात्मक ऊर्जा र उत्साह थपेको थियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सामाजिक गतिविधिमा सक्रिय सहभागी गराउनुका साथै नेतृत्व विकास, संगठनात्मक चेतना र सामूहिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

अन्त्यमा, सम्पूर्ण अतिथिगण, विभिन्न संगठनका प्रतिनिधि, आग्सुका केन्द्रीय, जिल्ला तथा आञ्चलिक तहका पदाधिकारी, विद्यार्थी, शुभचिन्तक एवं सहयोगीहरूको उत्साहपूर्ण सहभागिता र सहयोगप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ। सबैको सामूहिक प्रयास र सक्रिय सहभागिताका कारण नवागत अभिनन्दन सभा तथा रमाइलो भेटघाट कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

प्रतिवेदक : रोशन खनाल-मूल–सचिव,नगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top