All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #58
•
November 26, 2026

सर्वभारतीय देउसीभैलो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने आमा कला कुञ्ज सांस्कृतिक टोलीलाई आग्सुद्वारा सम्मान तथा बधाई ज्ञापन

📅 November 26, 2026
✍️ AAGSU
🕒 12:06 AM

बटियामारी, २५ नोभेम्बर २०२६: पश्चिम बंगालको सिलिगुडीमा हालै सम्पन्न सर्वभारतीय देउसीभैलो प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल असमको विश्वनाथ जिल्लाअन्तर्गत बिहाली समष्टि, बटियामारीस्थित आमा कला कुञ्ज सांस्कृतिक टोलीलाई अखिल असम गोर्खा छात्र संघ (आग्सु), बिहाली आञ्चलिक समितिले सम्मान तथा बधाई ज्ञापन गरेको छ।

कलाश्री बिनोद खनालज्यूको कुशल नेतृत्वमा असमको विश्वनाथ जिल्लालाई प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएको आमा कला कुञ्ज सांस्कृतिक टोलीले आफ्नो उत्कृष्ट सांस्कृतिक प्रस्तुति, मौलिकता, अनुशासन तथा सामूहिक समर्पणका माध्यमबाट निर्णायक मण्डलको मन जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो। यस ऐतिहासिक सफलताले बटियामारी क्षेत्रको मात्र नभई समग्र विश्वनाथ जिल्ला तथा असम राज्यकै सांस्कृतिक गौरव र प्रतिष्ठालाई राष्ट्रिय स्तरमा थप उचाइ प्रदान गरेको छ।

गोर्खा समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील आमा कला कुञ्जले हासिल गरेको यस उपलब्धिलाई आग्सु, बिहाली आञ्चलिक समितिले सम्पूर्ण गोर्खा समुदायका लागि गौरवको विषयका रूपमा लिएको छ। स्थानीय स्तरबाट सुरु भएको सांस्कृतिक यात्राले सर्वभारतीय स्तरको प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुले प्रतिभा, निरन्तर अभ्यास, सामूहिक एकता र दृढ इच्छाशक्तिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

यसै गौरवपूर्ण उपलब्धिको उच्च मूल्याङ्कन गर्दै आग्सु, बिहाली आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरू आमा कला कुञ्जमा उपस्थित भई सांस्कृतिक टोलीका नेतृत्वकर्ता कलाश्री बिनोद खनालज्यूलाई सम्मानपत्र तथा बधाई ज्ञापन गर्दै सम्मान व्यक्त गरेका थिए। उक्त अवसरमा टोलीको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट सांस्कृतिक प्रस्तुति र उपलब्धिहरू हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरियो।

सम्मान कार्यक्रममा आग्सु बिहाली आञ्चलिक समितिका कार्यवाहक सभापति तारा ढुंगानाज्यू, कार्यवाहक मूल–सचिव प्रकाश आचार्यज्यू, विश्वनाथ जिल्ला समितिका सहसचिव पंकज भरालीज्यू, जिल्ला कार्यकारिणी सदस्य करण होमागाईं तथा आञ्चलिक समितिका सदस्यहरू प्रकाश काफ्ले, गोपाल काफ्ले र विजय पोखरेलको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा उपस्थित पदाधिकारीहरूले आमा कला कुञ्जको सफलताले नयाँ पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्पराप्रति आकर्षित तथा प्रेरित गर्ने विश्वास व्यक्त गरे। साथै, देउसीभैलो जस्ता परम्परागत सांस्कृतिक प्रस्तुतिहरू मनोरञ्जनका माध्यम मात्र नभई गोर्खा समुदायको ऐतिहासिक विरासत, सामाजिक एकता, सामूहिक भावना र सांस्कृतिक पहिचानका महत्वपूर्ण संवाहक रहेको उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

आग्सु, बिहाली आञ्चलिक समितिले आमा कला कुञ्ज सांस्कृतिक टोलीको यस सफलताले आगामी पुस्ताका कलाकारहरूलाई समेत आफ्नो प्रतिभा उजागर गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा संस्थागत रूपमा सधैँ सकारात्मक सहयोग र प्रोत्साहन रहने प्रतिबद्धता व्यक्त गरेको छ।

अन्त्यमा, सर्वभारतीय स्तरमा असमको गौरव बढाउन सफल आमा कला कुञ्ज सांस्कृतिक टोली, टोलीका नेतृत्वकर्ता कलाश्री बिनोद खनाल तथा सम्पूर्ण कलाकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सफलता हासिल गर्दै गोर्खा समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरिएको छ।

प्रतिवेदक : तारा ढुंगाना-कार्यवाहक सभापति, बिहाली आञ्चलिक समिति

📤 Share this story
Scroll to Top