All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #58
•
November 26, 2026

प्रकृति महिला गोष्ठीद्वारा आयोजित प्रथम देउसीभैलो तथा संगिनी प्रतियोगितामा आग्सु पदाधिकारीहरूको सहभागिता

📅 November 26, 2026
✍️ AAGSU
🕒 12:06 AM

सतिया, २२ नोभेम्बर २०२६: विश्वनाथ जिल्ला अन्तर्गत सतिया पञ्चायत क्षेत्रको पाल गाउँमा ‘प्रकृति महिला गोष्ठी’को आयोजनामा प्रथम देउसीभैलो तथा संगिनी प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। गोर्खा कला, संस्कृति, परम्परा तथा मौलिक लोकसांस्कृतिक विरासतको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विभिन्न सहभागी टोलीहरूले देउसीभैलो तथा संगिनीका माध्यमबाट आफ्नो सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), विश्वनाथ जिल्ला अन्तर्गत सतिया आञ्चलिक गोर्खा छात्र संघका सभापति श्रीमान् धीरज भण्डारी र मूल–सचिव श्रीमान् रोशन छेत्री तथा विश्वनाथ जिल्ला समितिका सदस्य श्रीमान् अजित ढकालको उपस्थिति रहेको थियो। आग्सुका प्रतिनिधिहरूले प्रतियोगितामा सहभागी भई आयोजक संस्था तथा सहभागीहरूलाई प्रोत्साहन प्रदान गरेका थिए।

यसैगरी, यसअघि २० नोभेम्बर २०२६ का दिन काजिरंगाको रंगाजानमा भएको दर्दनाक सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति सतिया आञ्चलिक गोर्खा छात्र संघको पहलमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। उक्त कार्यक्रममा सतिया आञ्चलिक समितिका सभापति श्रीमान् धीरज भण्डारी, मूल–सचिव श्रीमान् रोशन कम्मर, विश्वनाथ जिल्ला समितिका सदस्य श्रीमान् सञ्जय पाण्डे तथा सतिया आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, २ नं. दक्षिण नागशंकर पञ्चायतका सभापति श्रीमान् शान्ताराम लामा, पञ्चायतका GRS श्रीमान् राजीव क्षेत्री तथा बोकाबिल क्षेत्रका स्थानीयवासीहरूको पनि सहभागिता रहेको थियो। श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा ज्यान गुमाउने दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

देउसीभैलो र संगिनी जस्ता परम्परागत सांस्कृतिक विधाहरू गोर्खा समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तान्तरणका महत्वपूर्ण आधार हुन्। यस्ता प्रतियोगिताहरूले विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति, परम्परा र लोककलाप्रति रुचि तथा अपनत्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

आग्सु सतिया आञ्चलिक समितिले स्थानीय सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा निरन्तर सहभागिता जनाउँदै समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्यमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिवेदक : धीरज भण्डारी–सभापति, सतिया आञ्चलिक समिति

📤 Share this story
Scroll to Top