All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #53
•
October 22, 2026

बोडोल्याण्ड विश्वविद्यालयमा आग्सु इकाईद्वारा गोर्खा फ्रेशर्स कार्यक्रम भव्यताका साथ सम्पन्न

📅 October 22, 2026
✍️ AAGSU
🕒 12:07 AM

कोक्राझार, ११ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बोडोल्याण्ड विश्वविद्यालय इकाईको आयोजनामा विश्वविद्यालय परिसरस्थित नीलेस्वर ब्रह्म प्रेक्षालयमा गोर्खा फ्रेशर्स कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। इकाईकी सभानेत्री मेनका उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रमको मञ्च सञ्चालन आयुष अधिकारी र विनिता सन्यासीले संयुक्त रूपमा गरेका थिए। झण्डोत्तोलन तथा सहिद वेदीमा स्मृति तर्पणसँगै सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि प्रस्तुत गरिएको थियो।

विश्वविद्यालयमा नवप्रवेशी गोर्खा विद्यार्थीहरूलाई स्वागत गर्ने, उनीहरूलाई विश्वविद्यालयको शैक्षिक वातावरणसँग परिचित गराउने तथा विद्यार्थीहरूबीच आपसी परिचय, भाइचारा, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी जीवनमा अनुशासन, मेहनत, समयको सदुपयोग र शिक्षाप्रतिको समर्पणको महत्वमाथि जोड दिँदै शैक्षिक योग्यतासँगै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यहरूको विकास गर्नुपर्ने विचार व्यक्त गरिएको थियो।

कार्यक्रमले नयाँ तथा पुराना विद्यार्थीहरूबीच आत्मीय सम्बन्ध विस्तार गर्नुका साथै गोर्खा भाषा, साहित्य, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणप्रति विद्यार्थीहरूलाई सचेत गराउने अवसर प्रदान गरेको थियो। आधुनिक ज्ञान, प्रविधि र वैज्ञानिक सोचलाई आत्मसात् गर्दै आफ्नो सांस्कृतिक पहिचानको संरक्षण गर्नु नयाँ पुस्ताको महत्वपूर्ण जिम्मेवारी रहेको विषयमा समेत जोड दिइएको थियो। साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्मान, सद्भाव र सहयोगको वातावरण निर्माण गर्दै शैक्षिक तथा सामाजिक चुनौतीहरूको सामूहिक रूपमा सामना गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारिएको थियो।

अखिल असम गोर्खा छात्र संघले गोर्खा विद्यार्थीहरूको हकहित, शैक्षिक उन्नति, भाषिक अधिकार, सामाजिक जागरण तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको सन्दर्भमा यस कार्यक्रमलाई विश्वविद्यालयमा संगठनात्मक चेतना विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। आगामी दिनमा विद्यार्थीहरूको शैक्षिक विकास, छात्रवृत्तिसम्बन्धी जानकारी, करियर मार्गदर्शन, व्यक्तित्व निर्माण तथा संगठनात्मक सक्रियताका क्षेत्रमा पनि इकाईले पहल गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा आग्सु केन्द्रीय समितिका संगठनिक सचिव अमृत खड्का, वित्त सचिव रिजु छेत्री तथा स्वास्थ्य सचिव किरण पौडेल; बीटीसी क्षेत्रीय समितिका शिक्षा सचिव शंकर राई; कोक्राझार जिल्ला समितिका सभापति आईता घिसिङ, मूल–सचिव सेबाष्टीन रत्ने, मुख्य उपदेष्टा मुकुन्द भट्टराई, सचिव हेमन पोख्रेल तथा सचिव भुवन पौडेल; बङ्गाईगाउँ जिल्ला समितिका सभापति प्रभाकर क्षेत्री तथा मूल–सचिव विनिता नेवारको उपस्थिति रहेको थियो।

त्यसैगरी, बोडोल्याण्ड विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक भवानी प्रसाद शर्मा, बीबीई महाविद्यालयका अध्यापक शुभम शर्मा, बोडोल्याण्ड विश्वविद्यालय आग्सु इकाईका पूर्व सभापति सञ्जय कोइराला तथा पूर्व मूल–सचिव चेतन दाहाललगायत बीएसयूका नेतृत्ववर्ग, बोडोल्याण्ड विश्वविद्यालय छात्र संघका प्रतिनिधि, विभिन्न आञ्चलिक समितिका पदाधिकारी तथा विभिन्न विश्वविद्यालय र महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको विश्वविद्यालय जीवनलाई सहज, उत्साहपूर्ण र उपलब्धिमूलक बनाउन संगठनले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिवेदक : भुवन पौडेल–सचिव कोक्राझार जिल्ला समिति

📤 Share this story
Scroll to Top