All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #53
•
October 22, 2026

७ स्टार नकआउट फुटबल प्रतियोगिता २०२६ सिजन–१ को भव्य फाइनल तथा समापन समारोह सम्पन्न

📅 October 22, 2026
✍️ AAGSU
🕒 12:06 AM

जोहिङ, १५ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), जोहिङ ९/६ कोइलामारी आञ्चलिक समितिको आयोजनामा जोहिङ बजार खेलमैदानमा सञ्चालन गरिएको ७ स्टार नकआउट फुटबल प्रतियोगिता २०२६ सिजन–१ को भव्य फाइनल तथा समापन समारोह सम्पन्न भयो। प्रतियोगिताको फाइनल खेल किमिन गोर्खा एफ.सी. र कोइलामारी सरला लाइनबीच अत्यन्तै रोमाञ्चक वातावरणमा सम्पन्न भएको थियो।

उक्त फाइनल तथा समापन समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), लखिमपुर जिल्ला समितिका निवर्तमान मूल–सचिव श्री राज पराजुली, निवर्तमान शिक्षा सचिव श्री राजा छेत्री, असम गोर्खा सम्मेलन, लखिमपुर जिल्ला समितिका सभापति श्री दिलीप छेत्री, जी.एस. प्रधान इङ्लिस हाई स्कुलका उपप्रधानाचार्य श्री मोहम्मद मिराजुद्दिन अन्सारीलगायत जोहिङ ९/६ कोइलामारी गोर्खा समाजका अग्रज समाजसेवीहरू श्री तारा बहादुर लिम्बू, श्री ध्रुव पराजुली, श्री तारा बहादुर छेत्री, श्री मदन गुरुङ, श्री प्रेमसिंह तामाङ, श्री राम बहादुर छेत्री, श्री विजय पराजुली, श्री विनोद लिम्बू, श्री अम कुमार गुरुङ, श्री अल्बर्ट रुटालगायत अन्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा कोइलामारी सरला लाइनले किमिन गोर्खा एफ.सी.लाई २–१ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो। विजेता टोलीलाई नगद पुरस्कारस्वरूप रु. २५,०००, प्रत्येक खेलाडीलाई पदक तथा स्वर्गीय लालकुमारीको पावन स्मृतिमा पराजुली परिवारद्वारा सौजन्यस्वरूप प्रदान गरिएको आकर्षक ट्रफी प्रदान गरियो। त्यसैगरी, उपविजेता किमिन गोर्खा एफ.सी.लाई नगद पुरस्कारस्वरूप रु. १०,०००, प्रत्येक खेलाडीलाई पदक तथा ट्रफी प्रदान गरी सम्मानित गरियो।

स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले आपसी सद्भाव, भाइचारा, अनुशासन तथा सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्दै युवाहरूलाई सकारात्मक मार्गतर्फ अग्रसर गराउने उद्देश्यले सञ्चालन गरिएको यस प्रतियोगिताको सफलतामा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अग्रज व्यक्तित्वहरू, समाजसेवीहरू, शुभचिन्तकहरू, सहयोगी दाताहरू, खेलप्रेमी दर्शकहरू तथा आयोजक समितिका सदस्यहरूप्रति आयोजक समितिले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

अन्त्यमा, प्रतियोगिताका विजेता कोइलामारी सरला लाइन, उपविजेता किमिन गोर्खा एफ.सी. तथा प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा पनि खेलकुदको विकास, सामाजिक एकता र भाइचाराको प्रवर्द्धनमा निरन्तर सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

प्रतिवेदक : राहुल तामाङ-सभापति, जोहिङ ९/६ कोइलामारी आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top