
रौता, १८ जानुवारी: अखिल असम गोर्खा छात्र संघ रौता आञ्चलिक समितिको उद्योगमा आज मिति १८ जनवरीदेखि ११ औं दलवीर सिंह लोहार स्मृति क्रिकेट प्रतियोगिता भव्य तथा उत्साहपूर्ण वातावरणका बीच प्रारम्भ भएको छ। स्थानीय खेलमैदानमा आयोजित उद्घाटन समारोहमा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति देखिनुका साथै प्रतियोगिताले क्षेत्रीय खेलकुद गतिविधिलाई थप उचाइ दिने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला समितिका सभापति श्रीमान् राम क्षेत्री ज्यूको बाहुलीबाट सम्पन्न भयो। त्यस अवसरमा आग्सु रौता आञ्चलिक समितिका सभापति श्रीमान् राजीव शर्मा तथा डी.एस.एल. खेल परिचालन समितिका सभापति श्रीमान् डम्बरु पुरीद्वारा झण्डोत्तोलन गरियो। आग्सुका मूल–सचिव श्रीमान् मोहन क्षेत्रीले शहीद तर्पण अर्पण गर्दै शहीदहरूको योगदानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। त्यसैगरी अनेसासका सभापति श्रीमान् भीष्म ढकाल तथा समाजकर्मी तुलसी गौतमद्वारा स्वतन्त्रता सेनानी दलवीर सिंह लोहारज्यूको प्रतिमूर्तिमा माल्यार्पण गरि उहाँको स्मृतिलाई सम्मान गरियो।
उद्घाटन समारोहमा आग्सु बि.टि.आर. क्षेत्रीय समितिका वित्त सचिव मनिराज क्षेत्री ज्यू, जिल्ला समितिका उप–सभापति सञ्जीव खतिवडा ज्यू तथा प्रचार सचिव नव शर्मा ज्यूको गरिमामय उपस्थिति रहेको थियो। वक्ताहरूले प्रतियोगिताले युवाहरूमा अनुशासन, एकता, खेलभावना तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने विश्वास व्यक्त गर्दै यस्ता खेलकुद कार्यक्रमहरू निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

११ औं संस्करणको रूपमा आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न स्थानीय तथा आसपासका टिमहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ। प्रतियोगिता अवधिभर खेलमैदानमा उत्साहपूर्ण प्रतिस्पर्धा देखिने अपेक्षा गरिएको छ। खेल सञ्चालन, व्यवस्थापन तथा सुरक्षाका लागि विशेष तयारी गरिएको पनि आयोजक पक्षले जानकारी दिएको छ।
स्वतन्त्रता सेनानी दलवीर सिंह लोहारज्यूको नाममा आयोजना गरिएको यस प्रतियोगिताले उहाँको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने तथा खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने उद्देश्य बोकेको छ। प्रतियोगिताको फाइनल खेल आगामी ८ फेब्रुअरीका दिन सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।
आयोजक अखिल असम गोर्खा छात्र संघ रौता आञ्चलिक समितिले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई प्रतियोगिताका खेलहरू अवलोकन गर्न तथा फाइनल खेलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।
प्रतिवेदन: राजीव शर्मा- सभापति, रौतक आञ्चलिक समिति( आग्सु) ।